बुधवार , श्रावण २७, २०८३
डा. बाबुराम भट्टराईको जन्म वि.सं. २०११ साल असार ४ गते ऐतिहासिक गोरखा जिल्लाको प्रसिद्ध लिगलिगकोटको पूर्वी फेदीमा रहेको खोप्लाङको वेलवास गाउँमा भएको हो । वहाँ पिता भोजप्रसाद भट्टराई (१९८७– ) र आमा धर्मकुमारी भट्टराई (१९८३–२०६२) का ६ सन्तानमध्ये तेस्रो सन्तान हुनुहुन्छ । एक दाज्यू र एक बहिनीको वाल्यकालमै मृत्यु भएको थियो भने हाल वहाँको एक दिदी, एक भाइ र एक बहिनी हुनुहुन्छ ।
वहाँ एक निर्वाहमुखी खेती प्रणालीमा आश्रित निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मेर हुर्कनुभएको हो । २०२६ सालमा एस.एल.सी. दिने बेलासम्म वहाँले स्कुल जाने बाहेकको समयमा गाइबस्तुको गोठालो जाने र खेतीपातीमा बुबाआमालाई सघाउने गर्नुहुन्थ्यो । त्यसो त खोप्लाङका भट्टराईहरु सोह्रौं शताब्दीमा द्रव्य शाहलाई लम्जुङबाट लिगलिगकोटमा ल्याएर राजा बनाउने केही खस–आर्यहरु (गणेश पाण्डे, नारायण अज्र्याल आदि) मध्येका एक गजानन भट्टराईका सन्तान मानिन्छन् । दरबारका ज्योतिष–पुरोहित कर्म गर्ने उनीहरुको एउटा हाँगो शाहवंशीय राजाहरुसँगसँगै लिगलिगकोटबाट गोरखा र त्यहाँबाट काठमाडौंतिर लागेको थियो भने अर्को हाँगो लिगलिगको फेदी खोप्लाङमा ज्योतिष र कृषि पेशा गरेर बसेको हुनसक्छ । बाबुरामका जेठाबा हरिप्रसाद भट्टराईसम्मले पुख्र्यौली पेशा ज्योतिष विद्या अनुसरण गरेबाट त्यसको छनक मिल्छ ।
डा. भट्टराईको विवाह भारतमा उच्च अध्ययन गर्ने क्रममा २०३७ सालमा हिसिला यमी (जो २००८ सालमा मातृकाप्रसाद कोइराला मन्त्रीमण्डलमा वन उप–मन्त्री रहनुभएका धर्मरत्न यमीकी कान्छी छोरी हुनुहुन्छ) सँग भएको हो । वहाँकी एक छोरी मानुषी यमी भट्टराई (२०४२– ) हुनुहुन्छ ।