हिरासत/जेल/भूमिगत जीवन

बिहिवार , श्रावण २८, २०८३

राजा वीरेन्द्र २०३६ सालमा भारतको राजकीय भ्रमणमा दिल्ली जाँदा उनलाई अभानेविसंको अध्यक्षको तर्फबाट कालो झण्डा देखाएकाले डा. बाबुराम भट्टराई जीवनमा पहिलो पटक भारतीय प्रहरीद्वारा गिरफ्तार भएर एक दिन हिरासतमा रहनुभएको थियो । दोस्रो पटक २०४२ सालमा पञ्चायतको रजत महोत्सवको क्रममा गिरफ्तार भएर करिव दुई हप्ता काठमाडौंको हनुमानढोका प्रहरी खोरमा रहनुभएको थियो । तेस्रो पटक २०४३ सालमा मेघालयबाट विस्थापित नेपालीहरुको पक्षमा आन्दोलन गरेवापत पुन: केही हप्ता हनुमानढोका प्रहरी खोरमा थुनिनुभएको थियो । चौथो पटक २०५० सालमा दासढुंगा काण्डको छानविनको माग गर्दै संयुक्त जनमोर्चा नेपालको तर्फबाट आन्दोलन गरेवापत् नेपाली कांग्रेस सरकारले वहाँलाई गिरफ्तार गरेर केही हप्ता सेन्ट्रल जेलमा राखेको थियो ।

सर्वप्रथम डा. भट्टराई २०४६/०४७ को पञ्चायतविरोधी आन्दोलनको उत्कर्षको बेला वारेन्टेड भएर करिब डेढ महिना भूमिगत हुनुभएको थियो । २०५२ साल फागुन १ गते जनयुद्ध शुरु हुनुभन्दा केही दिनअघिदेखि वहाँले नेपालभित्रै भूमिगत जीवन शुरु गर्नुभएको थियो । त्यसपछि दशवर्षे जनयुद्धकालभरि वहाँ निरन्तर भूमिगत रहनुभयो । बीचमा दोस्रो शान्तिवार्तानिम्ति पार्टीको तर्फबाट नेतृत्व गर्दै २०५९ फागुनदेखि २०६० श्रावणसम्म खुला हुनुभयो । त्यसपछि एकैचोटि प्रचण्ड र वहाँ २०६३ असार २ गते कास्कीको सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगै हेलिकप्टरमा आएर प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक हुनुभएको थियो ।

Narendra Sah