बिहिवार , श्रावण २८, २०८३
नेपाली इतिहासमा २००७ सालमा जन्मेर २०१४ सालमा राजा महेन्द्रद्वारा तुहाइएको संविधानसभाको मुद्दालाई २०४६ सालपछि पार्टीभित्र र बाहिर निरन्तर उठाएर अन्तत: सफल पारिछाड्ने मुख्य श्रेय डा. बाबुराम भट्टराईलाई नै जान्छ । पार्टीभित्र पहिले ‘संशोधनवादी नारा’ भनेर नकारिए पनि वहाँकै जोडबलमा जनयुद्धको दौरान २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि संविधानसभा माओवादी पार्टीको औपचारिक कार्यनीति बनेको थियो । वहाँकै नेतृत्वमा २०५९/०६० मा सरकारसँग भएको दोस्रो शान्तिवार्ताको क्रममा पहिलो पटक वहाँले संविधानसभाबाट बन्ने संविधानको अन्तरबस्तु प्रस्तुत गर्नुभएको थियो । २०६२ मंसिर ७ गते राजतन्त्रका विरुद्ध तत्कालीन सात दलसँग भएको ऐतिहासिक १२–बुँदे समझदारीको अन्तिम ड्राफ्ट वहाँ र कृष्णप्रसाद सिटौलाले तयार गर्नुभएको थियो ।
२०६२/०६३ को संयुक्त जनआन्दोलनपश्चात् राजतन्त्रले घुँडा टेकेपछि सरकारसँग भएका विभिन्न चरणका शान्तिवार्ताहरुमा वहाँले पार्टीका तर्फबाट सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । २०६३ मंसिर ५ गते सरकार र माओवादीबीच भएको युगान्तकारी ‘बृहद् शान्ति–सम्झौता’ र २०६३ माघ १ गते जारी गरेको ‘नेपालको अन्तरिम संविधान, २०६३’को निर्माणमा वहाँले नै पार्टीको तर्फबाट नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
फलस्वरुप २०६४ चैत २८ गते भएको नेपाली इतिहासको पहिलो संविधानसभा निर्वाचनमा आफ्नो गृहजिल्ला गोरखाको क्षेत्र नं. २ बाट वहाँ देशैभरमा सबभन्दा बढी मत (४६२७२), सबभन्दा बढी मत प्रतिशत (८१.९३) र सबभन्दा बढी मतान्तर (४०१२९) सहित निर्वाचित हुनुभयो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले सदियौंदेखिको राजतन्त्रलाई विधिवत् अन्त्य गरेर देशलाई गणतन्त्र घोषणा गर्दा वहाँले सार्वजनिक रुपमै ‘आफ्नो जीवनको सबभन्दा खुशीको दिन र एउटा सपना पूरा भएको दिन’ भनेर सगर्व घोषणा गर्नुभयो ।
२०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा वहाँ गोरखा क्षेत्र नं. १ बाट आफ्नो प्रतिद्वन्दीसँग सबभन्दा बढी मतान्तर (१३८५३) सहित २२८२४ मत (५८.२८ प्रतिशत) ल्याएर निर्वाचित हुनुभयो भने अर्को निर्वाचन क्षेत्र रुपन्देही–४ बाट पराजित हुनुभयो । दोस्रो संविधानसभाको सबभन्दा महत्वपूर्ण समिति ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’को सभापतिको रुपमा वहाँले २०७१ बैशाख १५ देखि २०७२ असोज ३ गतेसम्म संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभयो । परन्तु असोज ३ गते नेपाली इतिहासमा पहिलो चोटि संविधानसभाबाट संविधान जारी हुँदा उहाँ एकातिर प्रक्रियागत हिसाबले आफ्नो अर्को एउटा सपना पूरा भएकोमा अत्यन्त खुशी हुनुहुन्थ्यो भने अर्कोतिर अन्तरबस्तुको हिसाबले संविधानमा कतिपय अपूर्णता रहँदा र आधा देश(पहाड)ले दीपावली र आधा देश(तराई–मधेश)ले ब्ल्याकआउट गर्दा उत्तिकै दु:खित पनि हुनुहुन्थ्यो ।