बिहिवार , श्रावण २८, २०८३
भर्खरै राणाशासनबाट मुक्त भएको तत्कालीन नेपालका गाउँवस्तीमा आधुनिक शिक्षाको ज्योति फैलिसकेको थिएन । त्यसैले बालक बाबुरामको अक्षरारम्भ घरमा नै ज्योतिष जेठाबा हरिप्रसादबाट धुलेपाटीमा अक्षर कोरेर भएको थियो । बाँसको सुपलामा बाँसकै कलम र कटुसको पातको मसीले लेखेर वहाँको परम्परागत अनौपचारिक पढाइ शुरु भएको थियो । नेपाली सेनाबाट बर्खास्त भएका गाउँका एकजना सिपाही भक्तबहादुर भुजेलबाट २०१८–०१९ सालमा वहाँले अनौपचारिक रुपमा आधुनिक शिक्षा प्राप्त गर्नुभयो ।
२०१९ सालमा खोप्लाङमा भर्खर खुलेको अन्नपूर्ण प्रा.वि.मा वहाँ ३ कक्षामा भर्ना हुनुभयो । त्यसको केही महिनापछि लुईंटेल भञ्ज्याङमा युनाइटेड मिसन टू नेपालद्वारा सञ्चालित अमरज्योति जनता हाइस्कूल खुलेपछि वहाँलाई त्यहाँ लगेर ३ कक्षामा भर्ना गरियो । घरबाट स्कुल २/३ घण्टाको पैदल दूरीमा रहेकाले वहाँले डेरामा बसेर आफैंले सबै घरायसी काम गर्दै पढ्नु पर्दथ्यो । ३ कक्षामा जीवनको पहिलो औपचारिक परीक्षामा वहाँ प्रथम हुनुभयो र त्यहीँबाट वहाँको मेधावी प्रतिभा प्रस्फुटित हुने शृङ्खला शुरु भयो । कक्षामा वहाँ सधैं प्रथम र डा. उपेन्द्र देवकोटा दोस्रो हुनुहुन्थ्यो । २०२६ सालको एस.एल.सी. परीक्षामा वहाँ बोर्ड प्रथम हुनुभयो ।
२०२७–२०२८ मा वहाँले काठमाडौंको अमृत साइन्स कलेज (अस्कल)मा आइ.एस्सी. पढ्नुभयो । आइ.एस्सी.मा पनि बोर्ड प्रथम भएर वहाँ कोलोम्बो प्लान छात्रवृत्ति अन्तर्गत आर्किटेक्चरल इञ्जिनीयरिङ पढ्न २०२९ मा भारतको चण्डीगढ जानुभयो । २०३४ मा अनर्स सहित बी.आर्किटेक्चर सकेर पुन: छात्रवृत्तिमा टाउन एण्ड कन्ट्री प्लानिङमा स्नातकोत्तर गर्न दिल्लीको स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा भर्ना हुनुभयो ।
२०३६ मा अनर्ससहित स्नातकोत्तर सकेर २०३७ मा अर्को छात्रवृत्तिमा रिजनल डेभलपमेन्ट प्लानिङमा पि.एचडी गर्न दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय जानुभयो । त्यतिबेलासम्म वहाँ राजनीति र क्रान्तिकारी आन्दोलनमा बढी क्रियाशील भइसकेको हुनाले त्यहाँ प्रकृति विज्ञान र प्रविधिभन्दा समाज विज्ञान र राजनीतिक अर्थशास्त्रको अध्ययनमा वहाँले आफूलाई बढी केन्द्रित गर्नुभयो । २०४२ सालमा वहाँले "The Nature of Underdevelopment and Regional Structure of Nepal" विषयमा विद्यावारिधी शोधग्रन्थ पूरा गरेर आफ्नो लामो शैक्षिक यात्रालाई औपचारिक रुपले विराम दिनुभयो ।